Rule 25
प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिने कार्यविधि
(१) नेपालभित्र प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने विदेशी मुलुकको कानून बमोजिम प्रमाणीकरण गर्ने इजाजतपत्र पाएको कुनै प्रमाणीकरण गर्ने निकायले नेपालभित्र प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहेको व्यहोरा जनाई देहायका कागजात तथा विवरण संलग्न गरी नियन्त्रक समक्ष निवेदन दिन सक्नेछः–
(क) विदेशमा प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न प्राप्त गरेको इजाजतपत्रको प्रमाणित प्रतिलिपि,
(ख) चुक्ता पूँजी वा जेथाको विवरण,
(ग) ऐन र यस नियमावली बमोजिम प्रमाणीकरण गर्ने निकायले पूरा गर्नुपर्ने शर्त तथा योग्यता पूरा भएको देखाउने प्रमाण र विवरणहरू,
(घ) नियन्त्रकले माग गरेका अन्य विवरणहरू ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ प्राप्त कागजात तथा विवरणबाट नियन्त्रकले त्यस्तो विदेशी निकायलाई प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न मान्यता दिन उचित देखेमा निजले पालना गर्नु पर्ने शर्तहरू समेत प्रस्ताव गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश भएकोमा नेपाल सरकारले नियन्त्रकले प्रस्ताव गरेका शर्तहरूमा कुनै थपघट वा हेरफेर गर्नु पर्ने भएमा सो समेत गरी प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्ने स्वीकृति दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा त्यस्तो विदेशी निकायलाई यस नियमावली बमोजिम प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न इजाजतपत्र प्रदान गर्दा लाग्ने दस्तुर तथा बैंक ग्यारेण्टी लिई त्यस्तो विदेशी निकायले पालना गर्नु पर्ने शर्तहरू भए सो समेत खुलाई प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न मान्यता प्रदान गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको सूचनामा तोकिएका शर्तहरूको पालना नगरेमा वा ऐन वा यस नियमावली विपरीत कार्य गरेमा नेपाल सरकारको स्वीकृति लिई नियन्त्रकले त्यस्तो प्रमाणीकरण गर्ने निकायले पाएको मान्यता खारेज गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।